काठमाडौं । नेपालका अधिकांश भूभागमा सोमबार पनि तापक्रम नघट्ने सम्भावना देखिएको छ । तापक्रममा सामान्य फेरबदल भएपनि तराईका भूभागमा भने तापक्रम हिजोअस्ती जस्तै नै रहने अनुमान छ।
सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना भएपनि अन्य स्थानमा तत्काल पानी नपर्ने देखिएकाले तापक्रम यथावत् नै रहने मौसमविद् सञ्जिव अधिकारीले बताएका छन्।
मौसमविद् अधिकारीका अनुसार भैरहवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा चार पाँच दिनदेखि तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ । भैरहवामा मे ३१ देखि र सिमरामा मे ३० देखि लगातार ४० डिग्रीभन्दा बढी तापक्रम पुगेको छ।
सबैभन्दा बढी धरानमा २६।५ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ। त्यस्तै जनकपुरमा २६।२ डिग्री र सिमरामा २३ डिग्री न्युनतम तापक्रम मापन भएको छ। मे र जुन महिनामा उत्तरी गोलार्द्धमा सूर्यको किरण सिधा पर्ने भएकाले गर्मी हुनु स्वाभाविक हो। तर अहिले पानी पार्ने कुनैपनि प्रणाली सक्रिय नभएका कारणले गर्मी बढेको मौसमविद् अधिकारीले बताए ।