काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छिन् ।
सोमबार शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।
भण्डारीले प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले सम्पन्न नेपाल पनि प्लास्टिक फोहरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख गरिन् । वातावरण प्रदूषणका विभिन्न कारण मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको उनले बताइन ।
‘‘हाम्रा नदी, ताल–पोखरी, हिमाल, पहाड र सहर प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरुप बन्दैछन्, जसबाट हाम्रो परिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ”, उनले भनिन् ।
यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताइन । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’का रूपमा मनाउन सुरु गरिएको हो ।
यस वर्ष ‘प्लास्टिक प्रदूषणको समाधान’भन्ने मूल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।