काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ सोमबार विश्व वातावरण दिवस मनाइँदैछ ।
यसवर्ष सबैभन्दा महत्वपूर्ण वातावरणीय चुनौतीमध्येको एक प्लास्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले महासागर ल्यान्डफिल साइट, समथर भूमि, उच्च पहाडी र हिमाली क्षेत्र जताततै प्लास्टिकको फोहरले भरिएको र मानव स्वास्थ्य प्रणालीलाई अपरिवर्तनीय क्षति पु¥याउने खतरा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । प्रत्येक वर्ष विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामग्री उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ ।
प्रधानमन्त्रीले यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा ‘प्लास्टिक पोलुसन ट्रिटी’सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको बताए । उनले आफ्नो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लैजाने दृढता व्यक्त गरेका छन् ।
नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ ।