दोलखा । चालु आर्थिक वर्षको करिब ९० प्रतिशत साना योजनाको काम सकेर भुक्तानीसमेत गरिसकेको जिल्लाको बैतेश्वर गाउँपालिका ठूलो योजनाको काम पनि पूरा गर्नतर्फ केन्द्रित बनेको छ । गाउँपालिकाले हाल करोड रुपैयाँमाथिका योजनाको काम धमाधम गरिरहेको छ ।
पालिकाको प्रत्येक आर्थिक वर्षमा आफ्नै लगानीमा चार किलोमिटर ग्रामीण सडक ढलान तथा कालोपत्रे गर्ने योजनाअनुरूप चालु आर्थिक वर्षमा चार वटा ग्रामीण सडकको कालोपत्रे तथा ढलान गर्ने कामलाई तीव्रता दिएको हो । गाउँपालिका अध्यक्ष छवि लामाले पाँच वर्षभित्र मुख्य ग्रामीण सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताए । पालिकाले गत आइतबारदेखि दुईवटा मुख्य ग्रामीण सडक देउराली– क्षत्रपा र बुस्ती–पुतलीकाठ सडकको कालोपत्रे गर्न सुरु गरेको छ । गाउँपालिकाले यी दुई सडकको कालोपत्रे गर्न यस आवमा दुई करोड बजेट विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारले पालिकासँगको समपूरक अनुदानअन्तर्गत दुई करोड बजेट विनियोजन गरेको थियो ।
चालु आवमा देउराली–क्षत्रपा सडकखण्डमा एक किलोमिटर सडक पिच हुनेछ भने बुस्ती–पुतलीकाठ सडकखण्डमा नौ सय ५० मिटर सडक कालोपत्रे हुने गाउँपालिका सब–इन्जिनियर विश्वास घिमिरेले जानकारी दिए । यसअघि देउराली–क्षत्रपा सडकखण्डमा दुई सय ८० मिटर सडक ढलान गरिसकिएको छ । त्यस्तै, पालिकाले गोपी–जोरमाने सडकखण्डमा पनि आठ सय मिटर सडक ढलान सम्पन्न गरिसकेको छ । पालिकाको नाम्दु–पाडु सडकमा पनि कालोपत्रे गर्ने तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।