काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार यस वर्ष प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् । युगकवि सिद्धिचरण प्रतिष्ठानले शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पु-याएबापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ । यसै गरी राष्ट्रपति पौडेलले यस वर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।