सेतीओपी क्लबद्वारा ज्यालादारी गर्ने दुुई सयभन्दा बढीलाई भोजनको व्यवस्था
काठमाण्डौं,वैशाख २
काठमाडौँको कोटेश्वरमा रहेको सेतीओपी युवा क्लवले दैनिक ज्यालादारी तथा भाडामा बस्ने सर्वसाधारणहरूलाई निशुल्क भोजन गराएको छ । क्लबका अध्यक्ष रवि रिमालका अनुसार विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले सिंगो मुुलुक नै लकडाउन भएको छ ।
‘सरकारले गतचैत ११ गतेदेखि देशलाई लकडाउन गरेको अवस्थामा दैनिक ज्यालादारी गर्ने, मजदुरी गर्ने, भाडामा बस्नेहरूको दैनिक जीवन निकै नै कष्टकर भएको छ । यो अवस्थामा हामीले दुःखमा परेका व्यक्तिहरूलाई सहयोग गर्न निःशुल्क भोजनको व्यवस्था गरेका हौँ’, अध्यक्ष रिमालले भने । अध्यक्ष रिमालका अनुसार गतचैत २७ गतेबाट निःशुल्क भोजनको व्यवस्था गरेकोमा पहिलो दिन ६२ जनाले भोजन गरेका थिए भने दोस्रो दिन एक सय आठ जनाले भोजन गरेका थिए ।
यसैगरी तेस्रो दिन एक सय ४८ जनाले भोजन गरेका थिए । त्यसपछिका दिनहरूमा भने दैनिक दुुई सय जनाको हाराहारीमा भोजन गराइरहेको अध्यक्ष रिमालले बताए । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन नेपालमा पनि मुलुकभर लकडाउन गरिएको छ । लकडाउन लम्बिँदै गएपछि ज्यालादारी गरेर खाने न्यून आय भएका मानिसहरू समस्यामा परेकाछन् । दैनिक आयआर्जन नभएपछि उनीहरूलाई रासनपानी जुटाउनसमेत हम्मे पर्दै गएको छ । अर्कोतर्फ राज्यले वितरण गरेको राहत लिन अनिवार्य नागरिकता चाहिने व्यवस्था गरिएको छ । लकडाउनका कारण मानिसहरू बेरोजगार बनेका छन् भने आफ्नो घर फर्कनसमेत पाइराखेका छैनन्, यो अवस्थामा मानवीय भावनाले निःशुल्क भोजनको अभियान चलाएको क्लबका अध्यक्ष रिमालले बताए ।
यो अभिमान सरकारले जहिलेसम्म लकडाउनको व्यवस्था गर्छ, त्यहीलेसम्म चल्ने उनको भनाइ छ । दैनिकरूपमा भोजनको व्यवस्था गर्न प्रतिदिन १० हजार रूपैयाँभन्दा बढी खर्च लाग्छ, यो खर्चको व्यवस्थापन क्लव नै गर्दै आएको छ । तर, पछिल्ला दिनहरूमा भने हामीले निःशुल्क भोजनको अभियाना चलाएको थाहा पाएर होला दाताहरूले कसैले दाल, कसैले चामल, कसैले आलुु सहयोग गर्दै आउनुभएको छ, उनले भने । क्लबका सबै सदस्यहरूले मिलेर पकाउने खुुवाउनेलगायतका काम गरेको पनि उनले बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ३२, कोटेश्वरमा रहेको सेतीओपी क्लबले आफ्नै भवनमा सञ्चालन गरेको निःशुल्क भोजनमा हरेक दिन बिहान १० देखि १२ बजेसम्म सर्वसाधारणहरू खाना खान आउने गरेकाछन् । स्थानीय तहको कुनै स्रोत, सहयोग नपाए पनि कार्यक्रमको बारेमा वडा कार्यालय र प्रहरी प्रशासनसँग समन्वय गरिएको अध्यक्ष रिमाललले बताए ।
क्लबमा आबद्ध स्वयंसेवकहरूले नै क्लबको कार्यालयमा नै खाना पकाउने, खुवाउने र सरसफाइको काम गरिरहेका छन् । फोहर व्यवस्थापनका लागि हरेक दिन कोटेश्वरस्थित वेष्ट कन्सर्न प्रालिले सघाउँदै आएको छ । सामूहिक भोजनका लागि कोटेश्वर, जडिबुटी र आसपासका क्षेत्रबाट सर्वसाधारणहरू आउने गरेको समेत अध्यक्ष रिमालले बताएकाछन् ।