काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर दलालसम्बन्धी कारोबार सञ्चालनका लागि अनुमतिपत्रको आशयपत्र (एलओआई) दिएका ४३ कम्पनीमध्ये थप ११ वटा कम्पनीहलाई धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को लाइसेन्स दिएको छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले प्रक्रिया पूरा गरेका थप ११ कम्पनीलाई नयाँ ब्रोकरको लाइसेन्स दिएकोे हो ।
लाइसेन्स पाउने कम्पनीहरुमा एलिट क्यापिटल हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, मेघा स्टक मार्केट्स लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि, मनी वर्ल्ड सेयर एक्सचेन्ज प्रालि, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केबीएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्रालि र नबिल सेक्युरिटिज लिमिटेड रहेका छन् । प्रवक्ता श्रेष्ठका अनुसार अनुमति पाउने कम्पनीहरुमध्ये मेघा क्यापिटलले पूर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनीको रुपमा र नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको रुपमा लाइसेन्स पाएका छन् । यीबाहेकका नौ कम्पनीहरुले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा अनुमति पाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
स्टक ब्रोकर कम्पनी सञ्चालनका लागि आवेदन दिएका ४५ मध्ये बोेर्डले ४३ वटालाई आशयपत्र प्रदान गरेको थियो । तीमध्ये सातवटा कम्पनीले यसअघि नै लाइसेन्स पाइसकेका छन् । अहिले थप ११ वटाले कारोबार सञ्चालनको लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पूरा गरेको आधारमा लाइसेन्स दिइएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि यही जेठ नौ गते सातवटा कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको रुपमा कारोबार गर्न अनुमति पाएका थिए । लाइसेन्स पाउने सात कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, सेयर प्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी बिजार्ड प्रालि रहेका थिए ।
बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । सोही मागबमोजिम ब्रोकर कम्पनीको लागि ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि २० करोड रुपैयाँ तोकेको छ । चुक्ता पुँजी, ब्रोकर कम्पनीको लागि आवश्यक पूर्वाधार, कागजपत्र पुगेका कम्पनीहरुलाई बोर्डले अनुमति दिनेगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।