काठमाडौं । सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने राष्ट्रियसभा सदस्य बामदेव गौतमले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।
सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको भन्दै उनले चलनचल्तीमै रुमल्लिएको टिप्पणी गरे । गौतमले नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै यदि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए ।
कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले दाबी गरे ।
कृषि उत्पादन बढाउन कृषिभूमिको चक्लाबन्दी गर्न सुझाव दिएका गौतमले २६ लाख हेक्टर कृषि भूमि कित्ताकाटका कारण ४ करोड टुक्रामा विभाजित भएको सरकारले अझै धेरै टुक्रा बनाउने नीति लिएको भन्दै कित्ताकाट खुला गर्ने नीतिको आलोचना गरे ।