काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्डबिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्ने छन् ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो । बैंकको मोबाइल बैकिङ एप ज्योति स्मार्ट तथा वेब ब्राउजर ज्योति स्मार्ट डट जेबिबिलए डटकम डट एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस बैंकको देशभर रहेका ७५ वटै एटीएमबाट सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।
बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एपभित्र रहेको पेमेन्ट आइकनमा थिचेपछि देखिने कार्डलेस विथ ड्रल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत्पश्चात, ज्योति विकास बैंककै एटीएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ओटीपी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ । डिजिटल बैङ्किङको प्रयोग बढेसँगै बैंकले सोही प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगीविरुद्ध सचेत हुन जोड दिएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकको दाबी छ । प्रचलित कानुनको पूर्णरूपमा परिपालना गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।