काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा नेपालबाट ‘भ्रमण व्यय’ शीर्षकमा एक खर्ब दुई अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव तीन प्रतिशतले बढी हो । नेपालबाट विदेश अध्ययनमा जानेको संख्या बढेको र नेपाली रुपैयाँ अवमूल्यन भएका कारण भ्रमण व्यय शीर्षकमा गत वर्षभन्दा धेरै रकम बाहिरिएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म नेपालबाट विदेश अध्ययनमा जानेहरूले ७५ अर्ब १४ करोड रुपैयाँबराबरको विदेशी मुद्रा लगेका छन् । यस्तै विदेश घुम्न जानेहरूले २७ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा विदेश अध्यनमा जानेहरूले ५१ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका थिए । यस्तै वैदेशिक भ्रमणमा जानेहरूले २४ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका थिए ।
साउनदेखि फागुनसम्म नेपाल भ्रमणमा आउने पर्यटकले ५१ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३ दशमलव आठ प्रतिशतले बढी हो । यो शीर्षकमा गत आर्थिक वर्षकोे १० महिनामा २६ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको थियो ।
भ्रमण आयभन्दा व्यय बढी भएका कारण खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो सोही अवधिमा खुद सेवा आय ८८ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको थियो ।