काठमाडौं । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभएर स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउनु पर्ने परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा कञ्चनपुर(२ का नेपाली कांग्रेसका नेताहरुसँग भएको भेटमा उनले गेटामा स्थानीय वासिन्दाको चाहना अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका हुन् ।
‘कञ्चनपुर–२ का नेताहरु प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो’, साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले भने । भेटमा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि दाबी गरे ।
‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याविनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’ उनले भने । पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले मन्त्री साउदले गेटामा प्रतिष्ठान नभई विश्वविद्यालय नै बनाउन सरकार प्रतिवद्ध रहेको जवाफ दिएको बताए ।