काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई खर्ब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको जनाएको छ । २०८० वैशाख मसान्तमा एक लाख ४६ हजार आठ सय ६६ ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब २५ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ६० हजार सात सय १३ ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ८८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार तीन सय ५८ महिला उद्यमीलाई प्रवाह भएको ६१ अर्ब ३१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
यस्तै, सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० वैशाख मसान्तमा तीन अर्ब ५६ करोड रुपैयाँमा लगानीमा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार सात सय ९५ ऋणीको तीन अर्ब सात करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० वैशाख मसान्तमा ७४ करोड ८५ लाख रुपैयाँ बक्यौता रहेको छ ।