बुटवल । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि बल्ल पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।
नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे ३१ जना यात्रु सहित विमान भैरहवा अवतरण भएको छ । तोकिएको समय भन्दा जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो ।
भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडने छ । विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं ओर्लने छन् ।
मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट रहनेछ भने न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ । पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने निगमका उपनिर्देशक रमेश पौडेलले बताए । मलेसिया-भैरहवा-दिल्ली–काठमाडौं भारतले एअररुट अनुमति दिए चाँडै नै उडान गर्ने योजना रहेको उनले बताए ।