काठमाण्डौं,वैशाख ४
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरूले पासको दुरूपयोग भएको पाइएको छ । अनावश्यक व्यक्तिहरूले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको हो ।
लकडाउन अवधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको जनाएको छ । सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायवधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरूलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
उनले अत्याबश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरि अबस्था हेर्न, पास छ भनेर शान देखाउँदै हिँड्नसमेत त्यस्ता सवारी साधनहरू गुडेको भेटिएको बताए । त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरूपयोग गर्नेमाथि कारबाही गरिने समेत बताए ।
अत्यावश्यक पर्ने व्यक्तिहरूलाई दिएको पासको दुरूपयोग भएपछि त्यसको नियन्त्रण गर्न बुधबारदेखी कडाइका साथ अनुगमन सुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दुरूपयोग रोक्न पहिले लिएको पासलाई निरन्तरता दिँदै अब भने मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने जानकारी दिए । प्रशासनले बुधबार एक विज्ञप्ति जारी गरी पास दुरूपयोग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको हो ।
यसअघि दिइएको पहेँलो रङ्गको पास भने कायमै राखिएको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दुरूपयोग हुन थालेपछि रोक्न लागिएको हो । घरमा बसेर जथाभावि सन्देश पठाएर पास माग्ने गरेको पनि पाइएको काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा सात हजार बढीको ई–सन्देश आइसकेको छ । अघिल्लो हप्ता एक व्यक्तिले आफन्त बितेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
हालसम्म लकडाउन उल्लंघन गर्ने आठ हजार नौ सय ७४ सवारी साधन होल्ड तथा १८ सय ४६ वटा पासको दुरूपयोग गरी गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनले भने, ‘अनावश्यक हिँडडुल गर्न र पासको दुरूपयोगसमेत रोक्नका लागि सिभील प्रहरी खटाउनुको साथै सीसीटीभीबाट समेत निगरानी गरिनेछ ।’ लकडाउनको अबधिमा मापसे गरी सवारी चलाउने, तीव्र गतिमा गुड्नेलगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरूलाई कारबाही गरी लकडाउन अवधिभर होल्ड गरिने प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा एक सय ५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी चेकजाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानहरूमा संयुक्त चेकजाँचसमेत हुने गरेको छ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्तिलगायत थप सोधपुछसमेत गर्ने प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोधसमेत गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । सरकारले लकडाउनलाई थपेर वैशाख १५ गतेसम्म जारी गर्ने निर्णय गरिसकेको छ ।