काठमाडौं । निर्वाचित भएदेखि धरानमा खानेपानीको स्रोत थप्न श्रमदान अभियान चलाइरहेका मेयर साम्पाङको पछिल्लो प्रोजेक्ट हो, कोकाहा। झण्डै ४२ किलोमिटर लामो दुरी पार गरेर कोकाहा खोलाको पानी धरान आइपुगेको खुसीयालीमा धरानवासी पकुवा खोला किनारमा भेला भएर यतिबेला नाचगान गरिरहेका हुन्। यो रमाइलोको केन्द्रमा छन् मेयर हर्क साम्पाङ।
अघिल्लो वर्ष स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेपछिको विजयोत्सवभन्दा कम छैन आज धरानमा देखिएको खुसीयाली। अघिल्लो वर्षको स्थानीय चुनावमा भोट दिएर सघाएका धराने जनताले वर्ष दिनभन्दा लामो समयदेखि उनको श्रम अभियानमा पनि दरिलो साथ दिइरहेका छन्।
‘आजको खुसीयाली अर्को स्रोत थपिएकोमा हो। हामी यतिमा रोकिँदैनौं। मेयर सा’बको अगुवाइमा हामी निरन्तर काममा जुटिरहनेछौं।’ मेयर साम्पाङका सक्रिय सहयोगी दत्तकुमार लिम्बूले भने ।
‘कोकाहाको पानी धरान आइपुग्दैन भनेर अनेक अड्चन लगाउने काम भयो, यसबीचमा विभिन्न बहानामा मुद्दा लगाउने काम पनि भयो’, मेयर साम्पाङले पकुवामा भेला भएका सर्वसाधारणलाई भने, ‘अन्ततः पानी आयो। हाम्रो श्रम खेर गएन। परिश्रमको पसिना कहिल्यै खेर जाँदैन भन्ने प्रमाण आज यहाँ फेरि प्रमाणित भयो।’
कोकाहाको पानी धरान नल्याई घर नफर्कने वाचा गरेका मेयर साम्पाङ आइतबार श्रमदाताहरूसँग रात बिताएका थिए भने सोमबार राति पनि पाइपमा एयर लिक गर्न आफैं खटिएका थिए। पकुवामा पानी झरेको खबर पाएपछि उनी साढे १२ बजेतिर टोलीसहित त्याहाँ आइपुगे।
पाइपबाट छङछङ झरिरहेको पानी छुँदै उनी भक्कानिए रुन थाले। धेरैबेर धुरूधुरू रोएका उनी राम्ररी बोल्नै पनि सकेनन्। ‘सबैलाई धेरैधेरै धन्यवाद’, उनले यत्ति मात्र भने।