काठमाडौं,निक्षेप बढ्दै गए पनि बैंकहरूले ऋण लगानी बढाउन सकेका छैनन् । दुई महिनायता तरलता बढ्दा बैंकहरूसँग करिब तीन खर्ब रुपैयाँ ऋण प्रवाह गर्ने क्षमता छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४ दशमलव चार प्रतिशतमा झरेको छ । तर, बजारमा ऋणको माग बढ्न सकेको छैन । राष्ट्र बैंकले ऋणको विस्तार १२ दशमलव छ प्रतिशत हुने प्रक्षेपण गरेको भए पनि चालू आर्थिक वर्षमा त्यो लक्ष्य पूरा हुने संकेत देखिएको छैन ।
त्यसो त बैंकहरू पुरानो ऋण उठाउन लागि परेकाले पनि ऋण विस्तारमा आक्रामक नबनेको बैंकरले बताएका छन् । यस आर्थिक वर्षको सुरुदेखि नै मन्दी भएका कारण बैंकहरू ऋण विस्तारमा चुजी बनेका छन् । पुरानो प्रतिबद्धता जनाएको बाहेक ऋण नदिएकोे एक बैंकरले बताएका छन् । अर्कोतर्फ ऋणको ब्याजदर महँगो भएका कारण पनि माग घटेर गएको छ । अहिले बैंकहरूले ब्याजदर केही घटाए पनि आर्थिक गतिविधि नबढेका कारण माग बढ्न नसकेको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकको निक्षेप ४८ खर्ब ८५ अर्ब रुपैयाँ हो । यस्तै कुल कर्जा प्रवाह ४८ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । यसमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४२ खर्ब ९८ अर्ब रुपैयाँ छ ।
राष्ट्र बैंकले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव तीन प्रतिशतले बढेको देखिन्छ । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ दशमलव चार प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश सात दशमलव सात प्रतिशत, बचत खाताको २५ दशमलव आठ प्रतिशत र मुद्दती निक्षेपको ६० प्रतिशत रहेको छ । यस्तै संस्थागत निक्षेपको अंश ३६ दशमलव तीन प्रतिशत छ । गत आर्थिक वर्षको वैशाखमा संस्थागत निक्षेप ३८ दशमलव चार प्रतिशत थियो ।
एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा एक खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ । यो वृद्धि जम्मा तीन दशमलव तीन प्रतिशत हुन आउँछ । गत आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले १३ दशमलव चार प्रतिशतले कर्जा वृद्धि गरेका थिए । कुल पाँच खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको मन्दीका कारण ब्याजदर महँगो भएकाले कर्जाको माग घटेको छ । वैशाखयता बैंकहरू पर्याप्त कर्जा प्रवाह गर्नसक्ने क्षमतामा रहँदा पनि कर्जाको माग नै नहुँदा नयाँ ऋण प्रवाह बढ्न सकेको छैन ।
यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव सात प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव दुई प्रतिशतले, विकास बैंकहरूको पाँच प्रतिशतले र वित्त कम्पनीहरूको एक दशमलव प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२ दशमलव एक प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७ दशमलव तीन प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव चार प्रतिशत र ६६ दशमलव नौ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा सात दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ दशमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा नौ दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव तीन प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव दुई प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१ दशमलव दुई प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) चार दशमलव तीन प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा छ दशमलव दुई प्रतिशतले बढेको छ । यस्तै अधिविकर्ष कर्जा ६६ दशमलव सात प्रतिशतले घटेको छ भने मार्जिन प्रकृतिको कर्जा छ दशमलव नौ प्रतिशतले घटेको छ । हायर पर्चेज कर्जा पनि १२ दशमलव एक प्रतिशतले घटेको छ ।
वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर यथावत् राख्ने
वाणिज्य बैंकहरूले असारमा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संगठन नेपाल बैंकर्स संघको मंगलबार सम्पन्न बैठकले असारमा ब्याजदर नचलाउने निर्णय गरेको हो । यससँगै हाल कायम नौ दशमलव ९९ प्रतिशत ब्याजदर नै कायम रहनेछ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालेकाले मौद्रिक नीति सार्वजनिक हुनुअघि ब्याजदर नचलाउने निर्णय भएको बैंकरले बताएका छन् । बैंकर्स संघका उपाध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले राष्ट्र बैंकले असार १० गतेसम्म मौद्रिक नीतिमा समेट्नुपर्ने विषयलाई लिएर सुझाव पेस गर्न आह्वान गरेकोले मौद्रिक नीति पर्खनुपर्ने भएकाले ब्याजदर नचलाइएको बताए ।
बैंकहरूले यही वैशाखदेखि मुद्दती निक्षेपमा नौ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेका छन् भने बचतमा पाँच दशमलव चार प्रतिशतदेखि सात दशमलव चार प्रतिशतसम्म ब्याजदर तोकेका छन् । संस्थागत मुद्दती निक्षेपमा भने सात दशमलव ९९ प्रतिशत ब्याजदर तोकिएको छ ।
यसैबीच एसोसियसनले आगामी मंसिरको पहिलो साता एसियाली विकास बैंकहरूको सम्मेलन आयोजना गर्ने विषयमा पनि प्रारम्भिक छलफल गरेका छन् । छलफल प्रारम्भिक चरणमा भएको र यसबारेमा निकायहहरूसँग आवश्यक परामर्श गरेर निर्णय लिन बाँकी रहेको संघले जनाएको छ ।