हेटौंडा । हेटौंडाबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक युवकलाई पक्राउ गरेको छ । बुधबार बिहान प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो ।
हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ५६१।३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । प्रवक्ता कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।
त्यस्तै, वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा ६०० थान सल र १०० थान साडी बरामद गरेको हो ।
रातोमाटेबाट करिब एक लाख ५ हजार रुपैयाँ बराबर मूल्यको अवैध कपडा बरामद गरेको प्रहरीले जानकारी गराएको छ । प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको प्रवक्ता कार्कीले बताएका छन् ।