काठमाडौं । बुधबार बिहान बालुवाटार निवासमा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने उनले बताए ।
बुधबार पेरिसडाँडामा आयोजित अर्को एक कार्यक्रममा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताएका छन् । पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’
उनले पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति(सम्झौता ऐतिहासिक भएको बताएका छन् ।
घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले त्यसको प्रचार भने कम भएको बताए । भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल(भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको प्रचण्डको दाबी छ ।