काठमाडौं । सरकारी कारबाही छलेर रातारात धनी भएका विवादास्पद व्यक्ति रूपेश पाण्डेले हाकाहाकी बैंक कर्जा अपचलन गर्दै आएको थाहा भएको छ । मिटरब्याजमा पैसा लगानी गरेर व्यवसायीहरूको उठिबास लगाउँदै आएका पाण्डेले नेपाल इन्भेस्टमेन्ट, मेघा बैंक र प्रभु बैंकबाट ४० करोड रुपैयाँभन्दा बढी व्यावसायिक देखावटीको रूपमा लगानी गरी अधिकांश रकम कर्जा अपचलन गरेर मिटरब्याजमा लगानी गर्दै आएको थाहा भएको छ ।
मिटरब्याजी पाण्डेले दरबारमार्गमा रहेको इटालियन सामान बेच्ने ‘दामिलानो’ नामको पसलमा डेढ करोड रुपैयाँ र विशाल बजारअगाडि न्यूरोडमा रहेको ‘जय अम्बे सारी सोरुम’मा डेढ करोड रुपैयाँजति लगानी गरेर अरु रकम मिटरब्याजमा लगानी गर्नेगरेको पाइएको छ । यसरी कर्जा अपचलन गरिएको सम्बन्धमा बैंकमा अधिकारीहरूसँग सम्पर्क गर्दा बैंकको आमनेसामने रहेको ऋणी पाण्डेले माथिको दबाबमा हाकाहाकी कर्जा अपचलन गर्दै आएको बताएका छन् ।
हाकाहाकी कर्जा अपचलन गर्दै आएका मिटरब्याजी पाण्डेले समयमै किस्ता नबुझाउँदा समेत बैंकहरूले ताकेता गर्ने नगरेको र उल्टै कर्जा पुनर्ताजगीकरण गर्ने सुविधा प्रदान गर्दै आएको नाम उल्लेख गर्न नचाहने सर्तमा ती अधिकारीले बताएका छन् । पाण्डेले त्यसरी कर्जा अपचलन गर्ने छुट कसरी पाएका हुन् भन्नेबारेमा आफू जानाकार भएर पनि केही बोल्न नचाहने उनले बताए ।
पाण्डेले त्यसरी कर्जा अपचलन गरेर व्यवसाय गर्ने भनी लिएको कर्जा मिटरब्याजमा लगानी गर्दा पनि किन कारबाही नगरेको भनी बैंकका उच्च अधिकारीहरूसँग सम्पर्क गर्दा आफूहरूसमक्ष पनि पाण्डेले कर्जा अपचलन गरेको गुनासो आएको स्वीकारेका छन् । तर, कारबाही किन नगरेको त ? भन्ने प्रश्नमा ठोस जवाफ दिन चाहेनन् ।