काठमाडौं । कर्मचारीहरुले हाजिर गरेर टाप कस्ने गरेको गुनासो बढेपछि सिंहदरबार भित्रका कर्मचारीहरुको राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमन गरेको छ । सतर्कता केन्द्रले सिंहदरबार दक्षिण ढोकामै बसेर अनुगमन गरेको हो ।
कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले बताए । ‘कर्मचारीहरुले गलत नै गरेको पाइए सम्बन्धित मन्त्रालयमा हामीले लेखेर पठाउँछौं,’ शर्माले भने, ‘अनुगमनमा खटिएका साथीहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ हेरौं न ।’
सिंहदरबारबाट कर्मचारीहरु बाहिरिने क्रममा सतर्कता केन्द्रले कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ । विवरणमा अधिकांश कर्मचारीहरु आफ्नो व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ ।
कर्मचारीहरुले कार्यालय सुरु हुनु अगाडि हाजिर गर्ने त्यसपछि व्यक्तिगत कामका लागि दिनभर हराएर बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो आएपछि सतर्कता केन्द्रले बिहीबार बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।