काठमाडौं,प्यूठानको झिम्रुक गाउँपालिकामा गत जेठ २४ गते भएको घटनालाई अतिरञ्जित गरेर भ्रम फैलाएको आरोप लागेको छ ।
काम सम्पन्न भइसकेको योजनाको भुक्तानी माग गर्न उपभोक्ता समितिका अध्यक्ष र सचिवसहित झिम्रुक गाउँपालिका कार्यालयमा गएको टोली र कर्मचारीबीच भएको सामान्य विवादलाई अन्तै मोडेर प्रचार गरेको उपभोक्ता समितिका सदस्यले बताएका छन् ।जनताको काम लिएर गाउँपालिका कार्यालयमा जाँदा प्रशासकीय अधिकृत र योजना फाँटका संयोजक कर्मचारीलाई जाँडरक्सी खाएर कुटपिट गरेको भनेर उल्टै भ्रम फैलाएको उल्लेख गरेका छन् । एकतर्फीरूपमा नियोजित तरिकाले सत्य नभएको कुरालाई अफवाह फैलाएर आफूलाई पीडित बनाइएको उनीहरूले बताए ।
त्यस्तै,उनीहरू निकट स्रोतले भन्यो, ‘सामाजिक सञ्जालमा कार्यस्थलमा भएको पूरा घटनाको भिडियो नहालेर थोरै तोडमोड गरेर भिडियो हालेका छन्, त्यो हालेको भिडियोमा पनि कहीँकतै कुटपिट गरेको देखिँदैन । अझै पनि कुटपिट गरेको भन्दै केही पार्टीका कार्यकता र नेताहरूले भ्रम फैलाएका छन् । भिडियोमा हेर्नुहोस् त, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरू कुरा गर्दै गर्दा अरु मानिसले हुलहुज्जत गरेजस्तो देखिन्छ ।’
आफ्ना कुराहरू राख्ने क्रममा विवादमा तानिएका उपभोक्ता समितिका सदस्यहरूले भने आफूहरूको अराजक मच्चाउने कुनै नियत नभएको बताए । ‘अराजकताको हामी कल्पना पनि गर्न सक्दैनौँ, हामी हाम्रो काम इमान्दार तरिकाले गर्ने, आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्नसक्ने क्षमता भएका नागरिक हौँ । आफ्नो अधिकार माग्दा जहिले झुलाउने र विभिन्न बहानमा हामीलाई दुःख दिइरहेका थिए । त्यसैको प्रतिरोधस्वरूप केही विवाद भएको हो, तर हातपात भने कसैबाट भएको छैन’, उपभोक्ता समितिका एक सदस्यले भने ।
‘एउटा पार्टीको कार्यकर्ताले हामीलाई जाँडरक्सी खाएर कार्यालयमा पुगी कर्मचारीहरूलाई कुटपिट गरेको र त्यहाँबाट गाउँपालिकाका अध्यक्षले गाडीमा हालेर भगाएको भनेर फेसबुकमा लेख्यो । त्यसलाई राजनीतिक रङ्ग दिएर मसला बनाई प्रचार गरे र त्यही सामाजिक सञ्जालमा आएको कुरालाई आधार मानेर समाचारहरू आए । त्यसमा केही सत्य थिएन’, उनले भने, ‘जसले आफूमाथि हातपात गरेको भनी हामीलाई भने उनीहरूले केही समयपछि निकालेको विज्ञप्तिमा कहीँकतै हामीले मदिरा सेवन गरेको र हामीलाई पालिकाप्रमुखले गाडीबाट भगाएको विषयबस्तु समावेश गरेनन् । किन गरेनन् त ? किनकि त्यो सत्य थिएन । सत्य अरु पनि थिएन ।’
‘विज्ञप्ति निकालेको केही समयपछि सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो, त्यो भिडियोमा भएको सबै दृश्यले केही कुरा बुझाउँछ । तर, त्यो भिडियो पूरा भने होइन । माहोल बिगार्ने र उत्तेजित बनाउने उनीहरू थिए’, उनले थपे ।धेरै पटक आफूहरू आफ्ना माग लिएर सम्बन्धित ठाउँमा गए पनि सुनुवाइ नभएको उनले बताए । उल्टो आफूहरूलाई नै बदनामी गर्न खोजेको उपभोक्ता समितिका सदस्यहरूको गुनासो छ । उनले भने, ‘झिम्रुकमा नराम्रो राजनितिक परम्परा छ एउटाले अर्कोलाई रोक्ने जबरजस्ती दुःख दिने गर्छन् । गलतलाई रोक्नुपर्ने थियो तर एउटा गलतको विरुद्ध अर्को गलत गर्ने परिपाटी बनेको छ । यसले राम्रो संस्कार सिर्जना गर्दैन । त्यस्तो गर्नु हुँदैन त्यसको असर नागरिकहरूमा पर्छ ।’
घटनाका बारेमा झिम्रुकका कांग्रेसनिकट कार्यकर्तालाई हामीले घटनाको बारेमा केही प्रश्न राख्यौँ तर उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कर्मचारीहरू पनि जिम्मेवार बन्नुपर्छ, केही कर्मचारीहरू लोकसेवा आयोगमा नाम ननिकाल्दा बेरसम्म मरेर मिहिनेत गर्छन्, जब ठाउँमा पुग्छन् अनि आफ्नो जिम्मेवारी सबै सकिएको जस्तो गर्छन् । कछुवाको जस्तो गति बनाउँछन् । अबुझ जनतालाई विभिन्न वहानमा दुःख दिने गर्छन्, आफूलाई केन्द्रमा राखेर चलाउँछन्, अझ पार्टीले करारमा नियुक्ति गरेका कर्मचारीहरू त पूरै पार्टीको ‘एस म्यान’ बन्छन् । सबै त्यस्ता छैनन्, केही कर्मचारीका क्रियाकलापहरू त्यस्तै देखिन्छन् । सत्यलाई जति लुकाउन खोजे पनि त्यही हो ।’
साथै उनले आफ्नो अनुभव पनि सेयर गरे, ‘म जिल्ला प्रशासन कार्यालय जाँदा नागरिकतामा मेरो थर बिगारिदिएका रहेछन् । त्यही सच्याउन पछि जानुप¥यो । त्यहाँ भएका एक जना कर्मचारीले ममाथि दुव्र्यवहार गरे तर मैले केही प्रतिकार गरिनँ । मभन्दा पछाडि लाइन बसेका केही मानिसहरूको काम गरिदिँदै थिए, मैले सहेँ, केही भनिनँ । तर, त्यो क्रम निरन्तर रहिरहेपछि मैले उनलाई मभन्दा पछाडि रहेकाहरूको काम भयो तर मेरो पालो आएन घर टाढा पर्छ आमासँग आएको छु भनेर के भनेको थिएँ कर्मचारीले मेरो दुईवटा हात चल्छ र ? देखिँदैन काम गरेको भनी मलाई झपारेर दुव्र्यवहार गरे । सायद त्यतिबेला म पनि त्यसको प्रतिकार गर्न खोजेको भए मलाई नि कर्मचारी पिट्यो भनेर बदनाम गराउँथे होला, विवाद नगरेर ठीक गरेछु ।’
उनले थपे, ‘कर्मचारीले जिम्मेवारी जे हो त्यही निर्वाह गर्नुपर्ने हो । अरुलाई औँला उठाउँदा कसैले आफूमाथि पनि औँला उठाउन सक्छ भनेर त्यसको लागि तयार हुनुपर्छ । कर्मचारीहरूले पार्टीको भातृ संगठनको कार्यकर्ताजस्तो बनेर कुुनै राजनीतिक दलको योजनाअनुसार चल्नुपर्ने हो र ? अहिले त्यस्तै देखिन्छ हाम्रो ठाउँमा ! हाम्रोमा मात्र होइन प्राय देशका विभिन्न ठाउँहरूमा यस्तै छ । गाउँपालिकामा ‘चेन अफ कमान्ड’ भन्ने थाहा नै छैन । स्वतन्त्रताको नाममा पूरै अराजकता छ । बदनाम र आरोप लगाउन पनि छोड्दैनन् आरोप पुष्टि गर्न पनि सक्दैनन् ।’
उनले थपे, ‘यहाँ त्यस्ता केही झुण्डहरू छन् । जसले यहाँ वर्षौँदेखि आफूलाई यो ठाउँको राजामहाराज ठानेर बसेका थिए । अहिलेको निर्वाचनमा जनताले परास्त गरेपछि त्यसैको रिस र पीडा बेला–बेलामा पोख्ने गर्छन्’, उनले अगाडि भने, ‘जुन विषय अति सामान्य थियो जसलाई तिलबाट पहाड बनाएर प्रचार गरे । विवादलाई समाधान दिनुभन्दा चर्काएर जनताका कामलाई प्रभावित पार्न खोजे त्यो गलत हो । योजना सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ अनि मात्र सफलता मिल्ने हो । दुवै पक्षबाट भएका गल्तीहरू सुधार गरेर जनताको काममा लाग्नुपर्छ । एउटाले एर्कोलाई नराम्रो देखाएर आफू राम्रो बन्ने परिपार्टी अन्त्य गर्नुपर्छ ।’
‘आफू राम्रो छु भनेर अरुलाई गलत देखाउन, आफ्ना गल्तीहरू लुकाउन अरु कसैमाथि जाँड खाएर कर्मचारी माथि हातपात गरेको भन्दै उल्टो आरोप लगाउनु गलत हो । गाउँपालिकाको प्रमुखको छोरा, त्यसमाथि पनि जिम्मेवार नेतृत्वमा बसेर कार्य गरेको सबै कुरालाई गहिरो गरि बुझेको मान्छेले त्यस्तो गर्छ भन्ने कुरामा म सहमति छैन । तर, राजनीति न हो तर्क बहसभन्दा ढुङ्गामुढा, गालीगलौज यही सिकेका छन् । राजनीतिको नाममा जस्तो सिकेका छन् त्यस्तै व्यवहार सामाजिक सञ्जालमा देखाउने गर्छन्’, उनले भने ।
त्यस्तै सोही घटनामा रहेका अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष मिलन एमसीले आफूमाथि लागेको आरोप गलत भएको बताएका छन् । जेठ २४ गते बुधबार भुक्तानीका लागि स्थानीय दुई जना उपभोक्तासहित कार्यालय पुगेका मिलनमाथि प्रशासकिय अधिकृत र रोजगार शाखाका सहायक दीपक जिसीलगायतका व्याक्तिमाथि हातपात गरेको आरोप लागेको थियो । उक्त आरोप झुटो रहेको एमसीले खण्डनमा बताएका छन् ।
उनले भनेका छन्, ‘सात्ले पीपलारुख पातल मैदाना मोटर बाटोको आयोजनको कार्यमा उपभोक्ता समितिले रकम निकासाको लागि गाउँपालिका धाउँदा रकम निकासा हुन सकेको थिएन । पछिल्लो पटक गतहप्ता जेठ २४ गते सोही विषयमा उपभोक्ता समितिका अध्यक्ष र सचिव योजनाको विषयमा छलफल गर्न जाँदा छलफलको क्रममा उपभोक्ता समितिका दुई जनाले काम सकिएको र फाइल पेस गरेको महिनौँ बितिसक्दा पनि कुनै ठोस जवाफ नआएपछि अनुगमन समितिका संयोजक पालिकाका उपाध्यक्ष प्रमोद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल र योजना फाँटका कर्मचारी दिपक जिसीसँग आफ्नो शैलीअनुसार छलफल भएको हो । तर, बाहिर प्रचार भएको विषयवस्तु सत्यभन्दा बाहिर रहेको छ ।’
योजनाको विषयमा कुरा गर्न जाँदा नाम जोडेर नियोजित ढङ्गले चरित्र हत्या गर्ने र बदनाम गराउने हर्कत गरेकोमा उनले खेद प्रकट गरेका छन् । साथै अनुमतिविना आफ्नो तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेर चरित्र हत्या गर्नेलाई साइबर क्राइमअन्तर्गतको कारबाहीको दायरामा ल्याउने पनि उनले उल्लेख गरेका छन् । प्रक्रियागतरूपमा कागजातसहित पेस भएको फाइलको एक महिना बितिसक्दा पनि आलटाल गरेर हेलच्याक्याइँ गर्नुमा केही रहस्य रहेको विज्ञप्तिमा बताएका छन् । यो आयोजनाको विषयमा केही कमिकमजोरी र केही व्याक्तिको स्वार्थ रहेको हुनसक्ने भन्दै सम्बन्धित सबै पक्षलाई ध्यान दिन अनुरोध समेत गरेका छन् ।
यस्तो छ विज्ञप्ति:
झिम्रुक गाउँपालिकामा जेठ २४ गते गाउँपालिकाका प्रमुखका छोरा मिलन एमसी र सोही योजनाका अध्यक्ष रामबहादुर खड्का र सचिव गोपाल खड्कालगायतको समूहले कार्यालयमा कर्मचारी कुटपिट गरेको भन्दै निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठान र झिमरुकका कर्मचारीहरुले विक्षप्ति निकालेका थिए ।
जिल्लाका सबै प्रशासकीय प्रमुखहरु र झिमरुकका कर्मचारीले निकालेको विज्ञप्ति:

त्यसको केही समयपछि केही सञ्चार माध्यमले जाँड रक्सी खाएर कर्मचारी कुटपिट गरेको विषय मात्र समेटेका थिएनन् । त्यहाँबाट पालिकाप्रमुखले भगाएको विषयवस्तु पनि समावेश गरेका थिए । तर, तीमध्ये केही कुराहरू कर्मचारीले विज्ञप्तिमा समावेश गरेका छैनन् ।
उक्त कुरा बाहिर सार्वजनिक भएपछि, नेपाली कांग्रेस झिम्रुक गाउँपालिका र राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाले विज्ञप्ति निकालेका थिए ।
यस्तो छ विज्ञप्ति:

झिम्रुकमा लामो समयसम्म चलिरहेको विवाद सहमतिमा अगाडि बढेको बुझिएको छ । तर, पूर्ण सत्य भने बाहिर सार्वजनिक भएको छैन ।