काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा शुक्रबार उनले शिष्टाचार भेट गरेका हुन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचोन ग्याम्पोसँग भएको विवाहदेखि नै नेपाल र तिब्बतबीच नाता जोडिएको चर्चा गर्दै भूगोल, संस्कृति र परम्पराले पनि तिब्बत र नेपाल बलियो रुपमा जाडिएको राससलाई बताए । उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको जानकारी गराए ।
कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिमा असर परेकामा अहिले तीनवटा नाका खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन हुने विश्वास अध्यक्ष तिमिल्सिनाले व्यक्त गरेको राष्ट्रियसभासचिवालयले जनाएको छ ।
उनले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरला नाकालाई छिटो सञ्चलान गर्न गर्नुपर्नेमा जोड दिए । यसैगरी अध्यक्ष तिमिल्सिनाले नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेकाले नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रासमेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको जनाइएको छ ।
कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएकाले नेपालतर्फ पनि पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरिएको पनि बताइएको छ ।
उनले ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान तथा काठमाडौँ, पोखरा र भैरहवादेखि ल्हासा सिधा उडान गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिका लागि प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधि बढ्नेमा तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको पनि उल्लेख गरिएको छ ।
भेटमा महासचिव चेङजुङले कोरला नाकामा भन्सार पूर्वाधार निर्माण गर्न, नेपाली कृषिजन्य उत्पादनलाई भन्सार प्रक्रियामा सरलीकरण गर्न तथा तिब्बतको ल्हासाबाट काठमाडौँ, पोखरा तथा भैरहवा सिधा उडानका लागि आफूहरू सकारात्मक रहेको जानकारी दिनाका साथै तिब्बतले यी सबै विषयलाई कार्यान्वन गर्दै लैजाने आश्वासन पनि दिएको जनाइएको छ ।