काठमाडौं । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएपछि नेकपा एमालेले कोशी प्रदेशको सरकार जोगाउन जसपा नेपालको साथ पाउने विश्वास लिएको छ ।
मधेसमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कोशी प्रदेशमा जसपाकै साथ पाएर आफ्नो सरकार जोगाउन सकिनेमा एमालेले विश्वास गरेको छ । त्यसका लागि दुई दलको बीचमा लगभग सहमति पनि भइसकेको स्रोतले दाबी गरेको छ ।
एमाले स्रोतका अनुसार कोशी प्रदेश सरकार जोगाउने सर्तमै एमालेले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सोही कारण कार्कीले विश्वासको मत लिनुपरेको हो । जसपाले मात्र समर्थन गरेमा एमालेको सरकार जोगिने स्थिति रहेका कारण एमालेले मधेस प्रदेश सरकारमा विश्वासको मत दिएको स्रोतले जनाएको छ ।