काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरूको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरूको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिए ।
नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिबार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यातयोग्य वस्तुहरूको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्ब हाराहारीमा निर्यात सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरूको पहिचान हुन सकेको छैन । निर्यात भइरहेका वस्तुहरूको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफीजस्ता वस्तुहरूको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन ।’ नेपाली वस्तुहरूको निर्यात सहजीकरणका लागि मुख्यमुख्य भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिए ।
यसै गरी कार्यक्रममा अध्यक्ष मल्लले करको दरभन्दा पनि दायरा बढाउनतर्फ सरकारको ध्यान जानुपर्ने बताए । राजस्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालू आर्थिक वर्षमा सरकारी स्रोत नै संकुचित हुन पुगेको उल्लेख गरे । केही वस्तुहरूको आयात प्रतिबन्ध लाग्दा राजस्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । मुलुकको आर्थिक नीतिमा सबै दलहरू एकै ठाउँमा उभिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बजेटलाई वितरणमुखीभन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेमा सबैमा दलहरूको एउटै धारणा बन्नुपर्ने उनको भनाइ छ । युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा पनि उनले जोड दिए ।