काठमाडौं । सरकारले ३० अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि रकमको जोहो गर्दैछ । सरकारले चालू आर्थिक वर्षमा कुल दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । सोहीबमोजिम आर्थिक वर्ष सकिनै लाग्दा राष्ट्र बैंकले ट्रेजरी बिललगायतका मौद्रिक उपकरणहरूको बिक्रीमा तीव्रता दिएको हो ।
आइतबार राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ट्रेजरी बिल असार ४ गते सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुनेछ । असार ५ गते मंगलबार जारी हुनेछ । राष्ट्र बैंकले २३ अर्ब ८६ करोड रुपैयाँको पुरानो ट्रेजरी बिल नवीकरण गराउनेछ भने सात अर्ब रुपैयाँको नयाँ बिक्री गर्नेछ । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिका लागि १० अर्ब रुपैयाँ, ९१ दिन अवधिका लागि पाँच अर्ब ५३ करोड पुरानो नवीकरण र चार अर्ब नयाँ गरी नौ अर्ब ५३ करोड रुपैयाँ, एक सय ८२ दिन अवधिका लागि तीन अर्ब ३३ करोड पुरानो नवीकरण र तीन अर्ब नयाँ गरी छ अर्ब ३३ करोड रुपैयाँ र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँको बिल निष्काशन हुनेछ । ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले यसअघि पनि पटक–पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक औजारको प्रयोग गरी सरकारका लागि आन्तरिक ऋण उठाएको थियो ।