काठमाडौं । औद्योगिक क्षेत्रमा लोडसेडिङ जारी राखेर घरायसी प्रयोजनका लागि मात्र बिजुली दिएर लोडसेडिङ अन्त्य गर्ने आफूमात्र नायक भएको प्रचार गर्दै हिँडेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले विद्युत् प्रसारण लाइन निर्माणमा भने अरुको सहयोग नभएको भन्दै आफ्नो असफलतालाई अरुसँग जोड्ने प्रयास गरेका छन् ।
घरायसी प्रयोजको लोडसेडिङ अन्त्य गर्न औद्योगिक क्षेत्रको पनि योगदान थियो । तर, घिसिङले उनीहरूको योगदानको चर्चा गर्नै दिएनन् । सर्वसाधारणलाई त औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएको जसरी गलत सन्देश नै प्रवाह गराए । तर, घरायसी प्रयोजनको बिजुलीको निरन्तरताको लागि उद्योगीहरूले लोडसेडिङको मार बेहोर्नु परेको थियो ।
घरायसी प्रयोजको बिजुली आपूर्ति सहज भएपछि उनले आफ्नो अभियान विद्युत् प्रसासरण लाइन सुधार र निर्माणका लागि लगाउने घोषणा गरेका थिए । तर, घिसिङले उक्त कामलाई वर्षेनी कम महत्व दिँदै आए । किनकि प्रसारण लाइन निर्माणमा कमिसनको कुरा नमिलेपछि घिसिङले त्यसलाई महत्व दिएनन् । निजी क्षेत्रका विद्युत् उत्पादकहरूले पनि पहल गरुन् भनेर उनले प्रसारण लाइनलाई साझा समस्या बनाउने प्रयास गरे । यदि प्रसारण लाइन साझा प्रयासमा सफल भएको थियो भने उनले आफूले गरेको भनेर जस लिनका लागि सञ्चार माध्यम प्रयोग गर्दथे । घिसिङले केही ठाउँमा रहेको प्रसारण लाइनको समस्या हल गर्दा वरिपरि क्यामेरा बोकेका पत्रकार लगेर प्रचार नै गराए । सबै ठाउँमा घिसिङले भनेको जसरी काम नभएपछि उनले प्रसारण लाइनमा अरुको सहयोग नभएको बताउन थाले । छ वर्षसम्म प्राधिकरणको नेतृत्वमा रहेका घिसिङले सुरुका वर्षहरूमा प्रसारण लाइन निर्माण र विस्तारमा समस्या छन् समाधान गरौँ भनेर कतै पनि आग्रह गरेनन् । जब बिजुली उत्पादन भएर प्रसारण लाइनको अभावमा उत्पादित बिजुली पावर हाउसबाटै खेर जाने अवस्था आइपुग्यो तब उनले आफूलाई अरुले सहयोग नगरेको कारण प्रसारण लाइन निर्माण नभएको बताउन आइपुगेका छन् ।
प्राधिकरणका एमडी घिसिङले आइतबार पत्रकार सम्मेलन नै गरेर आफूलाई अरुले सहयोग नगरेको कारण प्रसारण लाइन निर्माण हुन नसकेको र यसले बिजुली खेर जाने र माग धेरै भएको ठाउँमा पठाउन नसकिने बताए । जुन कुरा घिसिङले चार÷पाँच वर्षअगाडि नै भन्नुपर्ने थियो । तर, जब आफू एक्लैले केही गर्न सकिँदैन भन्ने थाहा भयो तबमात्र एमडी घिसिङले प्रसारण लाइन निर्माणमा सहयोग नभएको बताए । उनले घरायसी लोडसेडिङ हटाउनका सकेकामा उद्योगीहरूको पनि योगदान थियो भनेर आइतबारको पत्रकार सम्मेलनमा पनि कुनै कुरा उच्चारण गरेनन् ।
प्रसारण लाइन निर्माण गर्न नसकिएमा विद्युत् आपूर्तिमा समस्या आउने जानकारी एमडी घिसिङलाई सुरुमै थियो तर उनले त्यसमा चासो नै दिएनन् । सुरुमा त उनले अरुको सहयोग नै नचाहिनेजसरी अगाडि बढे । जता पनि आफ्नो मात्रै चर्चा गर्न थालेपछि अन्य निकायले पनि खासै चासो दिएनन् । त्यही भएर अहिले विद्युत् प्रसारण लाइनको अवस्था नाजुक बन्दै गएको छ । बिजुली बोक्ने क्षमता नै प्रसारण लाइनको कमजार छ भने कतिपय ठाउँमा प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था सिर्जना भएको छ ।
प्रसारण लाइन सुधार र नयाँ निर्माणभन्दा पनि अन्य कमिसन धेरै आउने क्षेत्रमा एमडी घिसिङको ध्यान बढी गयो सोही कारण अहिले प्रसारण लाइनको अवस्था नाजुक बन्न पुगेको हो । ‘अर्थ मन्त्रालयले पैसा दिएपछि प्राधिकरणका एमडी घिसिङले भारतबाट बिजुली किनेर ल्याएर घरासयी प्रयोजको लोडसेडिङ अन्त्य गरे’, प्राधिकरणकै एक अधिकारीले भने, ‘लोडसेडिङ अन्त्य गर्दा अरुले होइन आफूले मात्र गरेको भनेर जसरी कुलमानले प्रचार गराए त्यसपछि उनका अन्य कदममा अन्य क्षेत्रले खासै खुलेर सहयोग गरेन । त्यसकै परिणामस्वरूप अहिले प्रसारण लाइनको अवस्था नाजुक हुनगएको हो ।’
नेपालमा उत्पादित बिजुली निर्यात गर्न, विदेशबाट आयात गर्न, आन्तरिकरूपमा वितरण गरेर आर्थिक लाभ लिन प्रसारण लाइन चाहिन्छ । तर, कुलमानले आफ्नो कार्यकालको पाँच÷छ वर्ष प्रचारमै बिताए । उनले प्रसारण लाइन निर्माणका लागि कुनै पनि सरकारी तथा गैरसरकारी निकायसँग आग्रह गरेनन् । आफ्नो अहमताको कारण उनलाई सहयोग गर्छौँ भनेर आउने पनि कोही भएनन् । त्यही भएर अहिले प्रसारण लाइनको अभाममा कतै बिजुली खेर जाने र कतै बिजुलीको अभाव हुने अवस्था सिर्जना भएको छ । कमजोर प्रसारण लाइनको कारण अहिले बिजुली आपूर्ति नियमित हुन सकेको छैन । भएको बिजुलीको आपूर्ति नै सहज हुन नसक्नु प्राधिकरणको चरम लापरबाही हो । अहिले देशका सबैतिर बिजुलीको माग बढेको छ । खासगरी तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको कारण त्यहाँ पनि बिजुलीको माग बढेको छ । तर, प्राधिकरणले प्रसारण लाइनको अभावमा त्यहाँ सहजरूपमा बिजुली नै दिन सकेको छैन । बर्खा लागेसँगै नेपालमा बिजुली उत्पादनमा वृद्धि भएको छ । तर, प्रसारण लाइनको अभावमा गुणस्तरीय बिजुली निर्यात गर्न प्राधिकरण असफल हुँदै आएको छ । प्रसारण लाइनको अभावमा अहिले देशभर नै झ्याप्प÷झ्याप्प बिजुली जाने समस्या बढेको छ । जसका कारण धेरै विद्युतीय मेसिनहरू जलेर जनताले आर्थिक क्षति बेहोर्नु परिरहेको छ ।