काठमाडौं । जेलभित्र मदिरा तथा लागुऔषधको कारोबार, मिटर ब्याजको आतङ्क चलिरहेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ । कारागारभित्र अन्य कैदी बन्दीमाथि जेलर, नाइके र चौकीदारहरू मिलेर दमन र शोषणसमेत गरिरहेको भन्दै कारबाहीका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
उजुरीमा कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार बजार मूल्यभन्दा १० गुणा महँगो शुल्क लिएर भइरहेको, कैदीका आफन्तले दिएको रकममा पनि ५० प्रतिशत कमिसन लिने गरेको र कसैले विरोध गरेमा कुटपिट गरी सरुवा गराइदिने गरेको आरोप लगाइएको छ ।
महिला कारागारभित्र पनि चौकीदार शान्ति तामाङ, हस्पिटल नाइके कोपिला मगर, हेडमास्टर निशा खिनाल लगायतको मिलेमतोमा लागुऔषध, चुरोट र मदिराको बेचबिखन भइरहेको उजुरी छ । केन्द्रीय कारागारभित्रकै महिला बन्दीगृहमा पनि अनियमितता चलिरहेको उजुरीमा उल्लेख छ ।