काठमाडौं । अप्पर स्याङगे हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले सेयर निष्काशन एवं बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत असार १० गतेबाट साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीको जारी पुँजी २२ करोड रुपैयाँ रहेकोमा कम्पनीले सर्वसाधारणका लागि २९ दशमलव ५९ प्रतिशतले हुन आउने छ करोड ५० लाख रुपैयाँ बराबरको छ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये १० प्रतिशतका दरले हुन आउने ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूको लागि, पाँच प्रतिशत अर्थात् ३२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि र तीन प्रतिशत अर्थात् एक हजार तीन सय कित्ता सेयर कर्मचारीहरूको लागि छुट्याएर कम्पनीले बाँकी रहेको पाँच करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको पाँच लाख ३९ हजार पाँच सय कित्ता सेयर बिक्रीको लागि आह्वान गरेको हो । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार १३ गते र ढिलोमा असार २४ गते बन्द हुनेछ ।