चितवन । आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चितवनको कालिका नगरपालिकाले स्थानीय उत्पादनलाई कालिका ब्राण्डमा बजारमा पठाउने नीति लिएको छ ।
कालिका नगरपालिकाले स्थानीय उत्पादनहरु मह, च्याउ, केरा, रैथाने कोदो, फापर र पिँडालु जस्ता स्थानीय उत्पादनलाई ‘मेड इन कालिका’ प्रतीक चिह्न राखेर बजारमा पठाउने बताएको हो ।
कालिका नगरपालिका केरा, च्याउ र महका लागि प्रसिद्ध भएका कारण यस जिल्लामा ब्यावसायिक केरा खेती, मौरीपालन र च्याउ खेती गरिएका छन् । स्थानीय उत्पादनलाई ‘कालिका कोशेली घर’ सञ्चालन गरी सामाग्रीहरु प्रर्दशनी तथा बजारीकरण गर्ने नीति नगरपालिकाले लिएको छ ।
नीति तथा कार्यक्रममा आगामी बर्ष दुई सय जना विपन्न तथा बेरोजगार ब्यक्तिहरुलाई उद्यमी बनाउन सीपमूलक तथा आयमुलक कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रमा खुल्ने साना ठूला उद्योगहरुमा कम्तीमा पनि २० प्रतिशत स्थानीयलाई रोजगारीको कोटा छुट्याउन पहल गर्ने नगर प्रमुख विनोद रेग्मीले उल्लेख गरेका छन् ।
नीति तथा कार्यक्रममा भोज भतेरहरुमा भात फाल्न नपाइने र फाल्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ । भात फाल्न नदिन सुरूवाती चरणमा घर–घरमै सूचना पुग्ने गरी अभियान सञ्चालन गर्ने, कार्यविधि बनाइने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख स्वास्थ्य बिमा कोष स्थापना गरी एक वर्षभित्र करिब २ हजार ५०० घरधुरीको स्वास्थ्य बिमा गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरपालिकाले अतिविपन्नको निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको छ ।