काठमाडौं । जर्मनी र रोमानियासँग सरकारले श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो ।
दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । ती मुलुकले छलफलका लागि समय तोकेपछि मन्त्रालयको टोली त्यसतर्फ जाने मन्त्रालयका एक अधिकारीले बताए ।
जर्मनीमा संस्थागत रुपमै म्यानपावर कम्पनीमार्फत कामका लागि जान पाउने वातावरण बनाउन खोजिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यो प्रयास सफल भएमा अन्य देशले पनि नेपालसँग श्रम समझदारीमा चासो दिनसक्छन् ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल नेपालीहरु गइरहका र भविष्यमा जानसक्ने युरोपियन श्रम गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्न प्रयत्न अघि बढेको बताउँछन् । तर, त्यो विषय छलफलको चरणमा नै रहेको उनको भनाइ छ ।
तुलनात्मक रुपमा बढी कमाइ हुने मानिने रोमानिया, साइप्रस, माल्दिभ्स, पोल्याण्डजस्ता देशमा धेरै नेपाली श्रमिक पुग्दै छन् । ती देशमा श्रमिक जाने क्रम बढेपछि त्यहाँबाट आउने रेमिट्यान्स पनि स्वतः वृद्धि हुँदैछ ।
यो वर्ष १० महिनाको अवधिमा जापानमा माल्टामा ४ हजार ८९०, ४ हजार ४१९, पोल्याण्डमा ३ हजार ९६७, साइप्रसमा ३ हजार १५३, माल्दिभ्समा ३ हजार १८ जना श्रमका लागि पुगिसकेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीपछि म्यानपावर कम्पनीहरुले युरोपका गन्तव्यबाट डिमान्ड ल्याउन थालेका थिए । वर्षमा एक सय जना श्रमिक नपठाए अनुमतिपत्र खारेज हुने व्यवस्थाका कारण म्यानपावर कम्पनीहरुले युरोपको गन्तव्य खोज्ने कसरत बढाएका हुन् ।