काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आग्रह गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ ।
मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले माग गरे । उनले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन आग्रह गरे ।