काठमाडौं । नेपाल राष्ट्र बैंकले छवर्षे अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार असार पाँच गते अर्थात् आज मंगलबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८६ ‘ङ’ (छवर्षे) बिक्री गर्न लागिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति २०८० असार छ गते तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् साँवा भुक्तानी हुने मिति २०८६ असार छ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ तोकिएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था रहेको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था रहेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने योजना र क्यालेन्डर चालू आव सुरु भएलगत्तै सार्वजनिक गरेको थियो । यसको लागि राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्नेछ । चालू आवमा उठाउन कुल आन्तरिक ऋणको लागि राष्ट्र बैंकले दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ भने तेस्रो त्रैमासमा पनि ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ ।
चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँचवर्षे निष्काशन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्येमा एक खर्ब ५० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँचवर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँचवर्षे रहेको छ ।
विकास ऋणपत्र भनेको के हो ?
दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र विकास ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्काशन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।