काठमाडौं । अन्ततः घोराही सिमेन्टको सेयर बिक्री–प्रक्रियामा नै जालझेल भएको पुष्टि भएको छ । नेपाल धितोपत्र बोर्डको सुपरीवेक्षण विभागले उक्त कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकको रूपमा काम गर्दै आएको हिमालयन क्यापिटल लिमिटेड ठमेल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालको लागि सोमबार पत्रचार गर्दै तत्कालको लागि साधारण सेयरको बिक्रीकार्य स्थगन गर्न निर्देशन दिनुले पनि सेयर बिक्री–प्रक्रियामा सुरुवाती चरणदेखि नै जालझेल भएको पुष्टि भएको हो ।
धितोपत्र बोर्डले सेयर बिक्रीकार्य तत्काल स्थगन गर्नको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टलाई लेखेको पत्रमा भनिएको छ, ‘उपयुक्त सम्बन्धमा तहको निष्काशन तथा बिजनिक निष्काशन भएको सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम (२) विपरीत भए÷नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न यही जेठ ३२ गते पत्राचार गरिएको थियो । तर, केयर रेटिङ नेपालले हालसम्म जानकारी पेस नगरी कुनै आधारविना म्याद थपको लागि अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा मागभन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्ने सूचना प्रकाशित गरेको देखिएको थियो । सोही आधारमा बोर्डले सर्वसाधारण लगानीको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्काशनसम्बन्धी कैफियतका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णय गरेको हो ।’
घोराही सिमेन्टले यही जेठ ३२ गतेबाट सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आईपीओ)को बिक्री खुला गरेको थियो । यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य चार सय ३५ रुपैयाँ कायम गरिएको थियो । कुल ६९ लाख ११ हजार छ सय ७० कित्ता सेयर सर्वसाधारणले असार ४ गतेसम्म खरिद गर्न पाउने सीमा तोकिएको थियो । कम्पनीले निर्धारित समयभित्र सेयर बिक्री नभएको अवस्थामा भने यही असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिने जानकारी यसअघि नै दिएको थियो । सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले घोराही सिमेन्टको आईपीओलाई ‘केयर एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको थियो । कम्पनीले आईपीओ जारी गरेपछि आर्थिक दैनिकले भने घोराही सिमेन्टको अवस्था राम्रो नभएको भन्दै लगानीकर्ताहरूलाई सचेत हुनको लागि आग्रह गर्दै समाचार सम्प्रेषण गरेको थियो ।
सोहीबीचमा जेठ ३२ गतेबाट प्रिमियम मूल्यमा निष्काशन भएको सेयरमा पहिलो दिनको साँझ पाँच बजेसम्म एक लाख २२ हजार आठ सय २८ जना सर्वसाधारणले ५१ लाख ३५ हजार एक सय कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जानकारी दिएको थियो । कुल दुई अर्ब २३ करोड ३७ लाख ६८ हजार पाँच सय रुपैयाँबराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ हाउसको भनाइ थियो । कुल सेयर बिक्रीमध्ये पहिलो दिनमा नै ७४ दशमलव २९ प्रतिशत सेयर बिक्री भएको र अब बिक्री हुन बाँकी सेयर २५ दशमलव ७१ प्रतिशत रहेको जानकारी सीडीएसले दिएको थियो ।
उद्योगले जारी पुँजी तीन अर्ब ९७ करोड १९ लाख छ सय रुपैयाँको २० प्रतिशत अर्थात् ७९ करोड ४३ लाख ८० हजार एक सय रुपैयाँबराबरको ९७ लाख ४३ हजार आठ सय एक कित्ता सेयर सार्वजनिक निष्काशन गरेको हो । यसमध्ये पाँच प्रतिशतले हुनआउने तीन लाख ९७ हजार एक सय ९० कित्ता सेयर स्थानीय उद्योग प्रभावितका लागि र १० प्रतिशतले हुनआउने सात लाख ५४ हजार छ सय ६१ कित्ता वैदेशिक रोजगारीमा रहेकालाई छुट्याएको थियो । यस्तै, सामूहिक लगानी कोषलाई पाँच प्रतिशतका दरले तीन लाख ७७ हजार तीन सय ३१ कित्ता र उद्योगमा कार्यरत कर्मचारीहरूलाई पाँच प्रतिशतका दरले तीन लाख ७७ हजार तीन सय ३१ कित्ता सेयर छुट्याएको थियो । यसरी छुट्याइएको सेयर निष्काशनपछि परेको आवेदनका आधारमा उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई ७७ हजार दुई सय ९० कित्ता, विदेशमा रोजगारीमा रहेका नेपालीलाई छ लाख छ हजार तीन सय ५० कित्ता, सामूहिक लगानी कोषलाई तीन लाख २८ हजार नौ सय ६१ कित्ता र कम्पनीका कर्मचारीहरूलाई १९ हजार पाँच सय ३० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँडफाँटपछि बाँकी रहेको आठ लाख ७४ हजार तीन सय ८२ कित्ता सेयरसहित ६९ लाख ११ हजार छ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशनमा ल्याएका ल्याएको थियो । कम्पनीले यी सबै सेयर उद्योग सञ्चालकको जालझेलका आधारमा बिक्रीमा ल्याएको उद्योगमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएको भन्दै समाचार सम्प्रेषण भएको थियो । उद्योगको वित्तीय अवस्था राम्रो नभए पनि प्रोपोगान्डा र अनेकौँ हतकण्डा अपनाएकै भरमा सेयर निष्काशन गर्न सफल भएको ती कर्मचारीको दाबी छ । ‘हेरिराख्नुस् उद्योगको सेयर खरिद गर्ने लगानीकर्ताहरू डुब्न सक्छन्’, ती कर्मचारीले केही दिनअघि नै आर्थिक दैनिकलाई भनेका थिए, ‘अन्य कम्पनीको साधारण सेयरजस्तै सम्झेर लगानीकर्ताहरूले सेयर खरिद गरे, तर यसको वास्तविकता अर्कै रहेको छ ।’