नौबिसे (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अर्ग्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् ।
धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको वि.सं. २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेका थिए ।
सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो ।
छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ । प्रतिव्यक्ति रु. तीन हजार पाँच सय शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ ।
यो जिपलाइन नेपालकै सबैभन्दा भिरालो (ठाडो) भएको र यसमा व्यक्तिको तौलअनुसार चुम्बकीय ट्रली प्रयोग हुने जिपलाइनका प्राविधिक विकास भण्डारीले बताए । कुनै गम्भीर रोगका बिरामी, उच्च रक्तचाप वा तर्सने स्वभावका व्यक्तिलाई यसमा नचढ्न सुझाव दिइन्छ । यसमा प्रायः मानिसहरू शनिबार र बिदाको दिन बढी आउने गरेका छन् ।
कुल एक सय २७ रोपनी क्षेत्रफलमा रहेको सो रिसोर्ट र जिपलाइनमा गरी हालसम्म करिब रु २७ करोड लगानी भइसकेको र जिपलाइनका लागि मात्रै रु दुई करोड लगानी भएको रिसोर्टका व्यवस्थापक प्रत्युश लामाले जानकारी दिए । यसमा १२ लगानीकर्ता छन् भने कार्यरत कर्मचारी अधिकांश स्थानीय छन् । जिपलाइनका प्राविधिकलाई त्यही तीन महिना तालिम दिइएको थियो । यसमा अष्ट्रेलिया र क्यानडाका प्रविधि लिइएको छ ।
थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले काठमाडौँबाट नजिकको दूरीमा रहेको यस नयाँ रिसोर्ट र जिपलाइनले आन्तरिक पर्यटक बढाउन सक्ने बताए । उनले उक्त जिपलाइनलाई गाउँपालिकाका एक चिनारीका रूपमा पनि विकास गर्न सकिने बताए ।
नेपालमा पहिलोपटक पोखराको साराङकोटडाँडाबाट जिपलाइनको थालनी भएको हो । हाल करिब एक दर्जन जिपलाइन सेवा नियमित सञ्चालनमा आइसकेका छन् । हालसम्म विश्वकै लामो जिपलाइनका रूपमा पोखराको जिपफ्यायर नेपालको एक हजार आठ सय मिटरको जिपलाइन रहेको छ ।