बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा मृत्यु भएको हो । उनीसँगै मृत्यु हुनेमा उनकी श्रीमती ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती थिइन । रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते हुनुभएका मन्त्री पत्नी अमृता र भाउजु नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो । “दुवै जनाको उपचारका लागि यहाँ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो”, उनले भने–“शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।”त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको छ । प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।