बदनियतपूर्ण तरिकाले सर्वसाधारणका लागि सेयर निष्काशन गरेको भन्दै नेपाल धितोपत्र बोर्डले तत्कालको लागि सेयर बिक्रीकार्य स्थगन गरेको घोराही सिमेन्ट इण्डष्ट्रिजको माउ कम्पनी त्रिवेणी गु्रपले फर्जी कम्पनीमार्फत भारतमा पैसा पठाउने गरेको खुलेको छ ।त्रिवेणी ग्रुपका सञ्चालकहरूसँग निकट रहेको स्रोतका अनुसार त्रिवेणी ग्रुपले आफ्नो विभिन्न कारोबारको रकम भुक्तानीको लागि आशिष टे«डिङ नामको फर्जी कम्पनी खडा गरी सोही कम्पनीमार्फत भारतमा पैसा पठाउने गरेको हो ।
त्रिवेणी ग्रुपअन्तर्गतकै अमृत टे«डिङ कम्पनीले पनि फर्जी बिलमार्फत भारतमा सामान पठाउने गरेको आरोप पनि स्रोतले लगाएको छ । त्रिवेणी ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूले कारोबार गर्दा भ्याट बिलहरूको प्रयोग नगरी सबै एक्सेल बिलमार्फत मात्र कारोबार गर्नेगरेको दाबी पनि स्रोतले गरेको छ । स्रोतका अनुसार नक्कली र फर्जी बिलमार्फत हुने सबै अवैधानिक कारोबारको व्यवस्थापन गर्नको लागि पुरुषोत्तमलाल संघाई भारतमा बस्ने गरेको र यी सबैको व्यवस्थापन उनलै गर्नेगरेका छन् ।
नेपालको हकमा भने त्रिवेणी ग्रुपअन्तर्गतका जति पनि कम्पनीहरू रहेका छन्, ती सबैमार्फत हुने फर्जी कारोबारको जिम्मा सञ्जय बंसलले लिएको र उनैले ती कारोबार हेर्ने गरेको दाबी पनि स्रोतले गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गतको घोराही सिमेन्टले अहिले महँगो मूल्यमा साधारण सेयर जारी गर्नुको भित्री कारण पनि आईपीओ बेचेर बैंकको ऋण चुक्ता गर्नु रहेको देखिएको छ ।
त्रिवेणी ग्रुपअन्तर्गत रहेका कुनै पनि संस्थाहरूको ट्याक्स अडिट, लेजर अडिट पनि नभएको स्रोतको दाबी छ । त्रिवेणी ग्रुपको हाल नेपालमा उत्पादन, ऊर्जा, बैंक तथा वित्तीय संस्था, सेवालगायतका क्षेत्रमा झण्डै तीन दर्जन कम्पनीहरू सञ्चालन गरेको छ । यो समूहले नेपालमा सगरमाथा सिमेन्ट, त्रिवेणी स्पेनिङ मिल्स, सगरमाथा रेडिमिक्स, विश्वकर्मा सिमेन्ट, त्रिवेण फिड इष्डष्ट्रिज, हिमाल ग्यास, अमृत तेल, गोर्खा सिमेन्ट, रिलायन्स सुगर मिल्स, एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, टोकला टी, बबल्स लाउन्ड्री सप, एकता लुगाधुने साबुनलगायतका कम्पनीमा लगानी रहेको छ ।