काठमाडौं । बझाङमा मंगलबार भएको जिप दुर्घटना सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह, भाउजू जयदेवी सिंहको पनि निधन भएको छ । अमृता र जयदेवीको बझाङ र मन्त्री सिंहको भने उपचारको क्रममा नेपालगञ्जमा निधन भएको हो । चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । मन्त्री सिंहसहित घाइते सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । जिप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।