काठमाडौं । योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु-याउने विश्वास गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्त गरेका छन् ।
बुधबार हल्चोकस्थित रङ्गशालामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आयोजित गरेको योग अभ्यासमा सरिक हुँदै उनले योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्ने बताए ।
नवौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङको सहकार्यमा योग अभ्यासको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, वंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याललगायत सङ्घका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।