ताप्लेजुङ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि गएरातिदेखि ताप्लेजुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । सडकभन्दा मुनिबाट मध्यरातमा झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनः विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको ताप्लेजुङ शाखाले जनाएको छ । बिहानदेखि मर्मतका लागि विद्युत्का कर्मचारी खटिएका छन् । विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन् । सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ ।