काठमाडौं । सुुदूरपश्चिम प्रदेशमा सहुलियत कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रतिवेदनअनुसार २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७९ असार मसान्तको तुलनामा १३ दशमलव ६५ प्रतिशतले बढेर १० अर्ब ४२ करोड आठ लाख रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा दुई दशमलव २६ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार दार्चुलामा २२ करोड, बैतडीमा २० करोड, डँडेलधुरामा ४५ करोड, कञ्चनपुरमा दुई अर्ब ६५ करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह भएको छ । यसैगरी बझाङमा २० करोड, बाजुरामा छ करोड, डोटीमा ३६ करोड, अछाममा १९ करोड र कैलालीमा छ अर्ब नौ करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह भएको छ ।
कृषि कर्जाअन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा रकम भने २०७९ असार मसान्तको तुलनामा २० दशमलव ८३ प्रतिशतले बढेर १५ अर्ब ५५ करोड ४९ लाख पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा २३ दशमलव ३८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी तीन अर्ब ६७ करोड १३ लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाह भएको छ भने सबैभन्दा कम पाँच लाख सनपाटमा प्रवाह भएको छ । समीक्षा अवधिमा कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ११ दशमलव ९४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलालीमा ६४ दशमलव चार प्रतिशत, कञ्चनपुरमा १९ दशमलव ७७ प्रतिशत, डँडेल्धुरा, अछाम, डोटी, दार्चुला, बैतडी, बझाङ, तथा बाजुरामा क्रमशः ३८ दशमलव छ प्रतिशत, दुई दशमलव ९२ प्रतिशत, दुई दशमलव ४२ प्रतिशत, एक दशमलव ९९ प्रतिशत, एक दशमलव ९८ प्रतिशत, एक दशमलव ७९ प्रतिशत र शून्य दशमलव ८७ प्रतिशत रहेको छ ।