काठमाडौं । अख्तियार दुरूपायेग अनुसन्धान अयोगले नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवको खर्च तथा लगानी तीन करोडभन्दा बढी रहेको भन्दै उनको खर्च तथा लगानी अस्वाभाविक भएको बताएको छ । प्राधिकरणको मेकानिकल इन्जिनियर यादवको आम्दानीभन्दा बढी खर्च भएसँगै सार्वजनिक पदमा रहँदा उनले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले यादवले आम्दानीभन्दा बढी स्रोत नखुलेको एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ ४१ पैसा लगानी तथा खर्च गरेको भन्दै विशेष अदालतमा बिगो जरिबानासहित आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालले बताए । यादवले प्राधिकरण विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको बताइएको छ ।
२०४८ साल फागुन ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनी २०७९ जेठ ९ गते सम्म पदमा रहँदा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा आम्दानी गरेको तथा सोही अवधिमा तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ ९० पैसाा खर्च तथा लगानी गरेको पाइएको छ । जुन आम्दानीभन्दा खर्च बढी देखिन्छ । त्यसैले गर्दा अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको पृष्टि हुनआएको भन्दै एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ ४१ पैसा बिगो जरिबाना र कैद जरिबाना माग गरिएको छ । साथै उनको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान अयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत तथा असुलउपर गरी पाउन समेत मागदाबी गरेको छ । यस्तै यादवकी श्रीमती मञ्जुदेवी यादवसमेतका नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिदलगायतमा गरिएको खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबरको भागको स्रोत नखुलको सम्पत्ति बिगो जफत गर्न तथा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिबाना जफत गर्न अख्तियारले अदालतसमक्ष माग गरेको छ । यादवले सार्वजनिक पदको दुरूपयोग गरी गैरकानुनीरूपमा कमाएको सम्पत्ति छोरीहरू विदेश पठाउँदा समेत खर्च गरिएको पाइएको छ ।