काठमाडौं । प्रभु बैंकले हुन्डाईको विद्युतीय गाडी किन्न सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना इभी र आयोनिक ५ किन्न चाहनेहरुका लागि सस्तो ब्याजदर योजना सार्वजनिक गरेको हो । कम्पनीले यी दुवै मोडलका इभी खरिद गर्न चाहने ग्राहकहरुले प्रभु बैंकबाट नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुन्डाईले प्रभु बैंकसँग साझेदारी गरेको जानकारी दिएको छ । यस योजनाअन्तर्गत इच्छुक खरिदकर्ताहरूले पहिलो वर्षका लागि नौ दशमलव ९९ प्रतिशत ब्याजदरमै हुन्डाई कोना इभी र आयोनिक ५ खरिद गर्न सक्नेछन् । प्रभु बैंकको देशभर रहेका तीन सय एकवटा शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले हुन्डाई कोना इभी र आयोनिक ५ लक्षित गरी यो अफर ल्याएको हो ।
हुन्डाई कोना इभी र आयोनिक ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुवै इभीले ग्राहकको मन जित्न सफल भएका कम्पनीको दाबी छ । आफ्नो उत्कृष्ट डिजाइन, प्रफर्मेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले जनाएको छ ।