काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेब सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने छ ।
एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ । एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आईडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी भन्छन्, ‘एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एपजस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।’ अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गतेदेखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नु हुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नुहुनेछ । उनले थपे, ‘हाल नबिल नेट प्रयोग गर्ने कर्पोरेट ग्राहकले कर्पोरेट पेमा दर्ता गर्नुपर्नेछ ।’
एनबैंक वेबमार्फत ग्राहकले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने र मुद्दती निक्षेपविरुद्ध ऋण लिनेजस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । साथै, एन रेमिट, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंक वेबमार्फत पहुँच गर्न सकिने छ । एनबैंक वेबले उच्चस्तरको सुरक्षा समावेश गरेको बताउँदै डिसीईओ रेग्मीले भने, ‘एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरूको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो इन्क्रिप्सन, दुई–कारक प्रमाणीकरण, स्वतः लगआउट सुविधा, र सिम प्रमाणीकरणलगायतका बलियो उपायमार्फत उच्चस्तरको सुरक्षा प्रस्तुत गरेका छौं ।’
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । देशभरि दुुई सय ५५ वटा शाखाहरू र दुई सय ८३ वटा एटीएमसहित, बैंकले ग्राहकको सन्तुष्टि र सेवामा उत्कृष्टताप्रति प्रतिबद्धतालाई सुदृढ गर्दै आफ्ना ग्राहकहरूको विकासशील आवश्यकता पूरा गर्न प्रयासरत छ । आफ्नो फुटप्रिन्टलाई थप विस्तार गर्न र डिजिटल बैंकिङतर्फ विश्वव्यापी परिवर्तनसँग पङ्क्तिबद्ध गर्न, नबिल बैंकले बैंकभित्र भर्चुअल शाखा एनबैंक स्थापना गरेको छ ।