काठमाडौं । शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी पाँच विदेशी नागरिकसहित १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
व्युरोका प्रवक्ता एसपी चक्राराज जोशीका अनुसार पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका छन् ।
पक्राउ परेका १२ जनाबाट कुल ३।७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर,चार किलो ७५० ग्राम गाँजा बरामद गरिएको एसपी जोशीले जानकारी दिए ।
नेपाली नागरिकहरूमा पक्राउ पर्ने काठमाडौंको चन्द्रागिरी-८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं-१८ का ४२ वर्षीय मुखिया गुरूङ, चितवनका २९ वर्षीय महेश चौधरी, विराटनगर-१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम, रूबीभ्याली-२ का ४२ वर्षीय दावा तामाङ, ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर-४ झापाका २४ वर्षीय सुमन लिम्बू रहेका छन्।