काठमाडौं । सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा भाग लिँदै उनले नेतृत्वले निर्णय गर्दा आफू र पार्टी निकट वा बिचौलियालाई ध्यानमा राखेर गर्ने हो भने विकास सम्भव हुँदैन भनेका छन् । उनले मुलुकको विद्यमान चुनौतीको सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।
भ्रष्टाचारको जालोमा जकडिएको मुलुकलाई वास्तविकरुपमा सामना गर्न सक्नुपर्नेमा उहाँले जोड दिँदै चर्चित भ्रष्टाचार काण्डमाथि सर्वोच्च अदालतका न्यायाधीशस्तरको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरे ।