काठमाडौं । गत साता अर्थात् असार ३ गते आइतबारदेखि ७ गते बिहीबारसम्म सेयर बजार परिसूचक दुई हजार ५५ दशमलव ५३ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ८१ विन्दुमा सीमित हुन पुगेको छ ।
गत साता धितोपत्र बजारमा दुई सय ८० वटा कम्पनीको सेयर कारोबार भएको थियो । जसअनुसार तीन लाख २० हजार एक सय ३४ पटकको कारोबारमा पाँच करोड २५ लाख २३ हजार दुई सय ८६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ६६ करोड २० लाख ८४ हजार छ सय १२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम अघिल्लो साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।
अघिल्लो साता भने धितोपत्र बजारमा दुई सय ८५ वटा कम्पनीको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख १४ हजार चार सय २८ पटकको कारोबारमा चार करोड ८२ लाख ४१ हजार आठ सय ७३ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १८ अर्ब ६४ करोड ८१ लाख ६८ हजार चार सय ४९ रुपैयाँ पुगेको थियो । गत साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनमा लगातार ओरालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक ५२ दशमलव २६ अंकले उकालो लागेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंकले उकालो लागेर तीन सय ९० दशमलव ५६ बिन्दुमा चढेको थियो ।
दोस्रो कारोबार दिन भने बजार परिसूचक दुई दशमलव ९४ अंकले ओरालो लागेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ९२ दशमलव ३८ विन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक २६ दशमलव ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २५ अंकले ओरालो लागेर तीन सय ८८ दशमलव १४ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक १४ दशमलव पाँच अंकले ओरालो लागेर दुई हजार ५० दशमलव ७८ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव तीन अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ११ विन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसूचक चार दशमलव ७५ अंकले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ३० अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ विन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।