ढाका । बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
राजधानी ढाकाबाट करिब एक सय एक किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारीसाधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिन्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए ।
स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेका थिएनन् । बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । मुख्यतया राजमार्गको खराब अवस्था, गाडीको उचित मर्मत सम्भारको अभाव, ग्यास सिलिन्डर विस्फोटसँग सम्बन्धित आगलागी, चालकहरूद्वारा ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बङ्गलादेशमा हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।
बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वका क्रममा अप्रिल १५ देखि अप्रिल २९ सम्म तीन सय चारवटा सवारी दुर्घटनामा परी तीन सय २८ जनाको मृत्यु हुनुका साथै पाँच सय ६५ जना घाइते भएका छन् ।