काठमाडौं । अधिकांश स्थानीय तहले आइतबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गतेअघि नै बजेट ल्याउनुपर्छ । तर, १० वटा स्थानीय तहले असार ९ गते नै बजेट सार्वजनिक गरेका थिए । सात सय ५३ स्थानीय तहमध्ये १० वटाले शनिबार र बाँकी सात सय ४३ मध्ये अधिकांशले आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । केही स्थानीय तहले विवादका कारण बजेट सार्वजनिक गर्न सकेनन् ।
नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सरकारहरूले कृषि, पर्यटन, स्थानीय परियोजना र रोजगारीलाई प्राथमिकता दिएका छन् । संघीय सरकारले उपलब्ध गराउने अनुदान, प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, स्थानीय तह आफैँले लिने राजस्व नै स्थानीय सरकारका लागि बजेटको मुख्य स्रोत हुन् । स्थानीय तहले संघीय सरकारबाट विभिन्न चार प्रकारका अनुदान र राजस्व बाँडफाटबाट रकम प्राप्त गर्नेछ । वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र राजस्व बाँडफाँट शीर्षकमा संघीय सरकारबाट बजेट प्राप्त गर्दछन् ।
यसबाहेक स्थानीय तहले उठाउने स्थानीय कर पनि बजेटको मुख्य स्रोत हो । स्थानीय सरकारले एकीकृत सम्पत्ति कर र घरजग्गा कर, भूमिकर, घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल बिटौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी, कवाडी र जीवजन्तु कर र सेवा क्षेत्रमा सेवाशुल्क लगाउन पाउँछन् ।
चालू आर्थिक वर्षमा संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ ८७ अर्ब ३५ करोड रुपैयाँँ, सशर्त अनुदानमा एक खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँ, समपूरक अनुदानमा सात अर्ब पाँच करोड रुपैयाँ र विशेष अनुदानमा आठ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । राजस्व बाँडफाँटमा प्रदेश र स्थानीय तहमा बाँडफाट हुनेगरी एक खर्ब ७३ अर्ब ९२ करोड रुपैयाँ रकम हस्तान्तरण हुने अनुमान गरेको छ ।
काठमाडौं, ललितपुर, पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाले आइतबार र वीरगञ्ज महानगरिपालिकाले गएको साता नै बजेट ल्याएका छन् ।
काठमाडौं महानगरको २५ अर्ब ५४ करोड
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आइतबार सार्वजनिक गरेको बजेटमा चालूतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कामपाले चालू आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो । चालू अवाको तुलनामा आगामी आवको बजेट करिब १४ करोड रुपैयाँले बढी हो ।
ललितपुरको छ अर्ब ५० करोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा पुँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ र चालूतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पोखराको आठ अर्ब ७७ करोड
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख रुपैयाँबराबरको बजेट ल्याएको छ । जसमा संघीय सरकारको अनुदानबाट दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकारको अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट तीन अर्ब एक करोड रुपैयाँ व्यहोर्ने उल्लेख छ ।
बजेटमा संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ४२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । कुल बजेटमा कम हुन जाने दुई अर्ब ४० करोड ४२ लाख रुपैयाँ चालू बजेटबाट बचत हुने रकमबाट व्यहोर्ने उल्लेख छ ।
भरतपुरको बजेट छ अर्ब ३१ करोड
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि छ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा १० करोड ७० लाख रुपैयाँ बढी हो । बजेटमा महानगरले आगामी वर्ष आन्तरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार रुपैयाँ, जनसहभागिताबाट ५० करोड रुपैयाँ, सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ र बैंक मौज्दात एक अर्ब ६५ करोड रुपैयाँ रहने प्रक्षेपण महानगरको छ । साथै अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित एक अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण छ ।
विराटनगरको बजेट तीन अर्ब २८ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रमा एक अर्ब ६५ करोड, ५५ लाख ७५ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रमा तीन करोड ९६ लाख ८१ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार रुपैयाँ, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तीन करोड पाँच लाख रुपैयाँ र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रमा दुई करोड ७२ लाख रुपैयाँ अनुमानित खर्च हुने जनाइएको छ ।
सार्वजनिक बजेट चालू वर्षको तुलनामा ४८ करोड २५ लाख रुपैयाँले न्यून हो । महानगरले चालू वर्षका लागि तीन अर्ब ७३ करोड ७५ लाख रुपैयाँ अनुमानित बजेट घोषणा गर्दै संशोधन गरेर चार अर्ब १७ करोड नौ लाख रुपैयाँ पु-याएको थियो ।
वीरगञ्जको बजेट तीन अर्ब २१ करोड
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तावित गरेको छ । असार ६ गते नै महानगरले बजेट ल्याएको हो । आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेटमध्ये चालूतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ अर्थात् ७७ प्रतिशत र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत गरी कुल तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरे ।
यसैगरी महानगरपालिकाले वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख रुपैयाँ, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाको लागि तीन करोड ७५ लाख रुपैयाँ, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड रुपैयाँ, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख रुपैयाँ, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याइएको छ । स्थानीय तहले सार्वजनिक गरेको बजेट असार मसान्तभित्र नगरसभाबाट पारित भइसक्नु पर्छ ।