काठमाडौं,लघुवित्तकर्मीहरूले वित्तीय सेवा अवरुद्ध गर्न खोज्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । पूर्वी नेपालको इटहरी, सुनसरी, विर्तामोड, झापाका केही स्थानमा रहेका लघुवित्तका शाखा कार्यालय सञ्चालन गर्न केही व्यक्तिहरूले अवरोध गरेको, कर्मचारीहरूलाई धम्क्याएको र ग्राहकलाई सेवा लिन नदिएको भन्दै त्यस्ता व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेको हो ।
नेपाल लघुवित्त बैंकर्स संघले मुलुकको गरिबी निवारणमा लघुवित्तहरूको ठूलो भूमिका रहे पनि लघुवित्तकर्मीहरूलाई अप्ठ्यारो परेको अवस्थामा सरकारले सुरक्षाको प्रत्याभूति गर्न नसकेको बताएका हुन् ।
संघले सोमबार पत्रकार सम्मेलन गरी आफूहरू गाउँमा गएर काम गर्नसक्ने स्थिति नरहेको भन्दै सुरक्षाको प्रत्याभूति गर्न पनि सरकारसँग माग गरेको छ ।ग्रामीण क्षेत्रमा बसोबास गर्ने करिब ६० लाखभन्दा बढी जनताहरूलाई सहजरूपमा वित्तीय सेवा दिई ती क्षेत्रका नागरिकहरूको आर्थिक अवस्था सुधार गर्न लघुवित्त संस्थाहरूको निकै ठूलो योगदान रहेको दाबी संघको छ । तर, केही लघुवित्तकर्मीको कमजोरीका कारण सबैलाई एउटै टोकरीमा हालेर व्यवहार गर्न नहुने संघका पूर्वअध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले बताए ।
लघुवित्त वित्तीय संस्थाहरूले सहरकेन्द्रित अर्थतन्त्रलाई ग्रामीण क्षेत्रसम्म पु¥याएको, सहरकेन्द्रित वित्तीय स्रोतलाई गाउँ र दूरदराजमा पु¥याई ग्रामीण अर्थव्यवस्थालाई चलायनमान बनाउन सहयोग गरेको उनको दाबी छ । लम्सालले भने, ‘लघुवित्तले विपन्न वर्गका सेवाग्राही सदस्यहरूको करिब एक खर्ब ७० अर्ब रुपैयाँ परिचालन गरी पुँजी निर्माणमा सहयोग गरेको छ, तर अर्थतन्त्रमा यतिठूलो योगदान गरेको यो क्षेत्र अहिले चौतर्फी घेरामा पर्दा सरकार मुकदर्शक बन्नु न्यायोचित होइन ।’ गलत काम गर्ने लघुवित्तहरूलाई नियामक निकायले कारबाही गर्नसक्ने भए पनि त्यसो हुन नसकेको गुनासो लम्सालको छ । उनले भने, ‘लघुवित्त वित्तीय संस्थाहरू सबै नराम्रा छैनन्, केही नराम्रो काम ग¥यो भने त्यसलाई दण्डित गर्ने राज्यको निकाय छ, तर अहिले सबै लघुवित्तकर्मीहरूलाई एउटै खाल्डोमा राखेर आक्रमण भइरहेको छ, यो अवस्थामा हामीले कसरी सुरक्षित भएर काम गर्न सक्छौँ ?’
विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दीले व्यापार व्यवसायमा नकारात्मक असर परी ऋणको किस्ता तिर्न कठिनाइ भएको, एउटै व्यक्तिले धेरै लघुवित्तसँग आवश्यकताभन्दा बढी ऋण लिएकोे र ऋण तिर्न कठिनाइ भएको समूहमा अर्कैको नामबाट ऋण लिन लगाई किस्ता नतिर्ने र अटेरी गर्नेगरेको अवस्था रहेको लघुवित्तकर्मीहरूले बताएका छन् ।पछिल्लो समय लघुवित्तबाट लिएको ऋण नतिर्न संगठितरूपमा अभियान सञ्चालन गरी लघुवित्तविरुद्ध प्रदर्शन भएको र लघुवित्तकर्मीहरूको कार्यशैलीप्रति भ्रम सिर्जना गरिएको पनि उनीहरूले बताएका छन् ।
लघुवित्त संस्थाहरूप्रति भएको चौतर्फी आक्रमणको विरोधमा नेपाल वित्तीय संस्था संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि विज्ञप्ति जारी गरेर लघुवित्त संस्थाहरूको बचाउ गरेका छन् । अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा स्थापित बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाहरूले मुलुकको विकास, आम सर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुविधा, आर्थिक वृद्धिमा खेलेको भूमिका, रोजगारी सिर्जनामा दिएकोे योगदानबारे सबै जानकार रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
अत्यावश्यक सेवाको रूपमा वित्तीय क्षेत्र रहेकाले निर्बाधरूपमा सञ्चालन गर्न र सेवा पु¥याउन बाधा पु¥याएको खण्डमा गैरकानुनी हुने भन्दै संघले सबै कर्मचारीको सुरक्षा हुनुपर्ने माग गरेको छ । संघले सेवा लिन आउने ग्राहकलाई अवरोध गर्ने वा शाखा सञ्चालनमा बाधा पु¥याएको खण्डमा सुरक्षा निकायले आवश्यक कदम लिने विश्वास पनि संघको छ ।
ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्नुपर्ने र ऋण नतिर्ने बहानामा यसप्रकारका अराजक गतिविधि गर्नेहरूलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्ति÷सुरक्षा कायम गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न र कर्मचारीलाई आवश्यक सुरक्षा प्रदान गर्न लघुवित्तकर्मीहरूले माग गरेका छन् ।