काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान अयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदिप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ढकालले सार्वजनिक पदमा वहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । ढकालले सार्वजनिक पदमा हुँदा गैरकानुनीरूपमा एक करोड ४४ लाख ११ हजार सात सय ८१ रूपैयाँ ७१ पैसा आर्जन गरेको भन्दै आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायार गरेको हो ।
ढकालले पेस गरेको सम्पत्ति विवरण नमिल्दो भएको, अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरूपयोग गरी गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले ढकालउपर निजले पदको दुरूपयोग गरी गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिबानाको सजाय माग गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो ।
अख्तियारमा उजुरी परेपछि गरिएको अनुसन्धानमा ढकालको वैधानिक आम्दानी छ करोड ३९ लाख ९३ हजार तीन सय १२ रुपैयाँ ४१ पैसा र खर्च तथा लगानी सात करोड ८४ लाख पाँच हजार ९४ रुपैयाँ १२ पैसा देखिएको थियो । ढकालले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति घर÷जग्गा खरिद, घरमा इन्टेरियर डेकोरेसन, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाबापतको साँवाब्याज भुक्तानी, सेयर किनबेचलगायतमा खर्च गरेको पाइएको आयोगले उल्लेख गरेको छ ।